असार १२, २०८१

सम्मान नहुँदा गाउँ रित्तियो : राष्ट्रपति

एक्सप्रेस टाइम्स
पुस २०, २०८० | २:२६ बजे

डुम्रे (तनहुँ), २० पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गाउँमा विकास र सुविधा पुगे पनि सम्मानजनक रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा ती विकास र सुविधाको उपभोग गर्ने मान्छे कोही नहुने हुन् कि भन्ने चिन्ता प्रकट गर्नुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै आज राष्ट्रपति पौडेलले विदेश मोहले लठ्ठिएका नेपालीहरु आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने अवस्था रहेको गुनासो गर्नुभयो । “अबका दुईचार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पु¥याउन हामी लागेका छौँ ।

म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन् ?”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफँैसँग गरिरहेको छु । उत्तर पनि मसँगै छ । गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन ।” राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन, श्रमशक्तिको पलायन भएको उल्लेख गर्नुभयो । “अहिले यहाँ पढ्ने र पढाउने दुवैथरी मेरा प्रशंसाका पात्र हुनुहुन्छ ।

यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो सहर पस्नुभयो । उतै बस्नु भयो । गाउँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रमशक्तिको पलायन मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ”, उहाँले भन्नुभयो । राष्ट्रपति पौडेलले आफूले पहिलोपटक चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर गाउँबाट अस्थिर भएको मनलाई गाउँमा नै आधुनिक सेवा र सुविधा ल्याएर गाउँमा नै बसौँ बसौँ बनाउँछु भनेको स्मरण गर्नुभयो । आफूले ग्रामीण स्वावलम्बनअन्तर्गत मोटर गाडी र स्वास्थ्यचौकी अनि सातौँ विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको उहाँको भनाइ थियो । उहाँले अहिले सबै गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताउनुभयो ।

उहाँले गाउँमा सबै विकास र सुविधा पुगे पनि गाउँ रित्तिने क्रम नटुटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि दोस्रोपटक गृहजिल्ला पुग्नुभएका राष्ट्रपति पौडेलले आफूले बैदी–छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही विषयमा आज पनि उभिएको स्पष्ट पार्नुभयो । उहाँले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको र अबको शिक्षा पनि यिनै विषयमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो, “हाम्रो राष्ट्रसँग जुन मलिलो माटो छ, स्वच्छ जलवायु छ, विविधता छ । त्यसलाई हामीले चिन्न सकेनौँ । हामी फोस्रा नारामा बढी बहकियौँ । कुन उचाइ र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौँ ।

जलवायुको ख्याल गरेर प्रविधिको प्रयोग गर्नु जरुरी छ ।” उहाँले हाम्रो संस्कृति र हाम्रो प्रकृतिको कोरीबाटी गरेर पर्यटन पूर्वाधारको विकास गरे गाउँमै रोजगारी र आम्दानी आउँने बताउँनुभयो । पौडलले भन्नुभयो, “हिमालबाट उर्लेर बग्ने हाम्रा नदीनालाबाट हजाराँै मेगावाट ऊर्जा उत्पादन गरी छिमेकमा समेत बिक्री गरौँ, हामी यहीँबाट धनी हुन्छौँ । आफ्नो परिवार तड्पाएर विदेशतिर भौतारिन पर्दैन । आफ्नै नाभीको कस्तुरी सुगन्ध खोज्दै भिरभिरै लतारिनु पर्दैन । आफैँले आफैँलाई चिनौँ–गाउँमुखी बनौँ–नेपालमुखी बनौँ, हाम्रो स्कुलमा पढाउने यही नै हो असली राष्ट्रवाद ।” राष्ट्रपति पौडेलले शिक्षा ज्ञान, चेतना र देशको सर्वाङ्गीण विकासको आधारशिला भएको बताउँदै शिक्षाको साथसाथै जीवनको आदर्श उच्च बनाउने र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने नैतिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सीपविना तथा आचरणविनाको नागरिकबाट देश समृद्ध हुन सक्दैन ।

सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गरी सीपवान् र शीलवान् नागरिक बनाउनेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्ने मलाइ लाग्छ ।” सूचना प्रविधि, विश्वव्यापीकरण र आधुनिकताले ओतप्रोत भएको वर्तमान विश्वपरिवेशको मागअनुरुपको शीक्षा नीति, पाठ्यक्रम र प्रविधियुक्त प्रतिस्पर्धी तथा गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्