असार १२, २०८१

देवचुलीमा खस्यो ५८६ मत

एक्सप्रेस टाइम्स
मंसिर ५, २०७९ | ८:३१ बजे

आइतबार मतपेटिका जलाइएपछि स्थगित भएको नवलपुर क्षेत्र नं १ अन्तर्गत पर्ने देवचुली–४ मा आज मतदान भएको छ । स्थानीय शान्ति सृजना आधारभूत विद्यालयमा आज पुनः भएको मतदानमा पाँच सय ८६ मत खसेको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

लुइँटेलका अनुसार देवचुलीको मतपेटिका मतगणनास्थल कुमारवर्ती बहुमुखी क्याम्पसमा ल्याइसकिएको छ । नवलपुरको क्षेत्र नं १ मा कूल एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेकामा ८७ हजार तीन सय ८२ मत खसेको लुइँटेलले बताउनुभयो । यस क्षेत्रमा ४८ हजार चार सय पाँच महिला, ३८ हजार नौ सय ७६ महिला तथा एकजना अन्यले मतदान गरेका लुइँटेलले जानकारी दिनुभयो ।

मतगणना गर्ने तयारीस्वरुप क्षेत्र नं १ को सर्वदलीय बैठक दिउँसै बसेको भन्दै उहाँले अबको केहीबेरमा मतगणना सुरु गरिने बताउनुभयो । नवलपुर क्षेत्र नं १ को मतगणना विभिन्न चार स्थानबाट गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत लुइँटेलका अनुसार मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्