मंसिर २०, २०८०

मतदाता रिझाउँदै उम्मेदवार

एक्सप्रेस टाइम्स
कार्तिक २३, २०७९ | ११:४४ बजे

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् । नेकपा एमालेका जिल्ला सहसचिव कर्ण चन्दले जिल्लाका ९२ वटै वडामा प्रचारप्रसार तीव्र पारिएको बताउनुभयो । “निर्वाचन नजिकिँदै छ हामीले प्रचारप्रसार तीव्र पारेका छौँ ।

” उहाँले भन्नुभयो, “उम्मेदवार घरदैलोमा पुगेर आ–आफ्नो पक्षमा मत मागिरहेका छन् ।” तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेकोे कञ्चनपुरमा सत्ता गठबन्धन र एमाले राप्रपा गठबन्धनका उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवारले पनि घरदैलो अभियानलाई तीव्र पारेका छन् । नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले निर्वाचन आउन थोरै दिन भएकाले उम्मेदवार मतदाता रिझाउन व्यस्त रहेको बताउनुभयो । “गठबन्धनका उम्मेदवार विजयी गराउनका लागि टोल–टोलमा समिति बनाएर परिचालन गरेका छौँ ।

” उहाँले भन्नुभयो, “समय छोटो भएकाले टोलटोलमा भेला गरेर उम्मेदवारले आफ्ना एजेन्डा मतदातामाझ राख्दै हुनुहुन्छ ।” उम्मेदवार घोषणापत्रसहित घरदैलोमा पुगेर अहिले मतदाताको मन तान्न लागिपरेका छन् । मतदाताले भने विकासका योजना ल्याउन सक्ने उम्मेदवारले जित्नुपर्ने बताएका छन् । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदिशप्रसाद भट्टले विकास र समृद्धिको आवश्यकता भएकाले विकास ल्याउने उम्मेदवारले जीत्नुपर्ने बताउनुहुन्छ । “महाकाली करिडोर निर्माण र दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाह निमार्ण गर्नसक्ने उम्मेदवारलाई जिताउनुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म हामीले आश्वासन मात्रै पायौँ अब बोलेर हैन गरेर देखाउनेलाई मत दिनुपर्छ ।” उहाँले गड्डाचौकी अत्तरिया सडक छ लेन र दैजी जोगबुढा सडक निमार्ण गर्नसके यहाँको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले पनि तयारी तीव्र पारेको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै स्थानीयतहका वडा मतदाता शिक्षाका लागि कर्मचारी खटिएका छन् । निर्वाचनका लागि सामग्री र जनशक्ति व्यवस्थापन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्