बैशाख ४, २०८१

आचारसंहिताले निर्वाचनको विश्वशनीयता कायम गर्छ

एक्सप्रेस टाइम्स
कार्तिक २२, २०७९ | ४:१९ बजे

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहित सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलका नेताहरुको उपस्थितिमा बनाइएको आचारसंहिता भएकाले साना र ठूला दल भन्ने कुरा नहुने बताउनुभयो ।

आचारसंहिता कार्यान्वयनका लागि सरोकारवालाको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “आचारसंहिता निर्वाचनको कार्यक्रममा सहभागिता जनाउने जो सुकैलाई पनि लागू हुन्छ ।” दलका प्रतिनिधिको सहमतिले आचारसंहिता बनेको बताउँदै उहाँले यो कार्यान्वयन गर्नु दल र उम्मेदवारको कर्तव्य हुने बताउनुभयो । आचारसंहिता कार्यान्वयनका लागि सरोकारवाला निकायसँगै कर्मचारीहरु पनि चनाखो हुनु पर्ने उहाँले बताउनुभयो । आचारसंहिता स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि बनाइएको बताउँदै उहाँले यसले निर्वाचनको विश्वशनीयता कायम गर्ने बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीले आचारसंहिता नैतिक कानुनीबन्धन भएकाले सबैले पूर्ण रुपमा पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आँफैले बनाएको नियमको आँफैले उल्घन गर्नु भनेको दण्डनिय भएको बताउदै निर्वाचनमा हुने अपराध, दुव्र्यवहार, गलत अभ्यास, डर धाक, धम्की प्रलोभन जस्ता कार्य रोक्न सहयोग पुग्ने बताउनुभयो । निर्वाचन आचारसंहिताका प्रमुख बिषयहरु र सरोकारवालाको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्दै सचिब ज्ञवालीले आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने काम सबै पक्षबाट हुन जरुरी रहेको बताउनुभयो ।

निर्वाचनको मिति घोषणा हुनुअघि ठेक्का सम्झौता भएर सुरु भएका विकास निर्माणका काममा भने आचारसंहिता लागू नहुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचनमा खर्च र प्रचारप्रसार विषयमा कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन आयोगकी उपसचिव लक्ष्मी शर्माले आयोगले निर्धारण गरेको खर्च भन्दा बढी रकम खर्च गर्न नपाईने बताउनुभयो । आयोगले रु २५ लाख देखि ३३ लाखसम्म भौगोलिक अवस्था अनुसार खर्चको निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा चितवनमा मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले जिल्लामा आचारसंहिता कार्यान्वयनका सवालमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्