जेष्ठ ११, २०८१

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

एक्सप्रेस टाइम्स
कार्तिक १७, २०७९ | १२:३६ बजे

जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यममको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचको तयारीका विषयमा जानकारी गराउनुभएको हो ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिए पछि कूल मतदाताको सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ पुगेका र तीमध्ये तीन लाख ३१ हजार ४४ पुरुष र तीन लाख ३२ हजार दुई सय ५९ महिला रहेको उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ । जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबैभन्दा धेरै मतदाता क्षेत्र नं५ मा रहेको र सबभन्दा कम क्षेत्र नं१मा रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ मा मतदाताको सङ्ख्या एक लाख २० हजार तीन सय ७५ रहेको र क्षेत्र नं ५ मा एक लाख ५४ हजार दुई सय ८९ मतदाता रहेका छन्

जिल्लामा सात सय ६६ मतदान केन्द्र र दुई सय ८५ वटा मतदानस्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताउनुभयो । जिल्लामा दुई वटा मतदानस्थल अस्थायी रुपमा तयारी गरिएकामा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि एउटा र प्रहरी, कर्मचारीलगायतका लागि जिल्लामा अर्काे रहेको छ ।

जिल्लाभर छ हजार दुई सय ४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको र उनीहरुलेसमेत मतदानमा सहभागिता जनाउने भएका छन् । कार्यक्रम मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्