मंसिर २०, २०८०

गोपाष्टमीमा गौशालाका गाई र गोरुको विशेष पूजा

एक्सप्रेस टाइम्स
कार्तिक १६, २०७९ | ५:३३ बजे

गोपाष्टमीको अवसर पारेर पशुपति गौशालामा संरक्षण गरिएका २१७ गाई गोरुको विशेष पूजासहित मीठो खानेकुरा खुवाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल अष्टमीका दिन गाई गोरुको पूजा गरी गोपाष्टमी पर्व मनाउने गरिन्छ । गोपाष्टमीका अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले गौमाताका रुपमा पूजिने नेपालको राष्ट्रिय जनावर गाईको संरक्षणमा सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले राजधानीको काठ क्षेत्रमा धेरै गाई गोरु छाडा छोडिने गरेकामा त्यसको संरक्षणका लागि स्थानीय सरकारका तर्फबाट काम भइरहेको बताउनुभयो । सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष कैलाश गोयल, नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तल, पशुपति गौशाला धर्मशाला व्यवस्थापन समितिका अध्यक्ष चतुर्भुज सरियालगायतले गौ संरक्षणमा संस्थाले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो ।

गौशालाले दैनिक २९ लिटर दूध पशुपतिनाथमा अर्पण गर्न निःशुल्क दिने गरेको सो अवसरमा जानकारी गराइएको थियो । समितिले धादिङको धार्केमा पनि गौशाला स्थापना गरी सडकमा छाडा छोडिएका १४० गाई गोरु संरक्षण गरेको जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्