मंसिर २०, २०८०

सुनसरी र झापाबाट ठूलो परिमाणमा अवैध पटका बरामद

एक्सप्रेस टाइम्स
अशोज २९, २०७९ | ७:१४ बजे

भारतबाट ल्याइएको झण्डै आठ लाख मूल्य बराबरको अवैध पटका सशस्त्र प्रहरीले सुनसरी र झापाबाट बरामद गरेको प्रहरीले जनाएको छ । 

तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर नेपाल भित्राइएको अवैध पटका सशस्त्रले नियन्त्रणमा लिएकाको हो । पटका ओसारपसारमा संलग्नहरू भने सशस्त्रलाई देखेपछि फरार बनेका थिए । 

बोरामा प्याक गरेर ल्याइएको विभिन्न प्रकारका १० बोरा पटका झापाको झापा गाउँपालिका-१ बाट बरामद भएको प्रहरीको भनाइ छ ।

सशस्त्र प्रहरी निरीक्षक विभूराज दाहालको नेतृत्वमा खटिएको टोलीले सात लाख ५० हजार मूल्य बराबरको पटका बरामद गरेको हो । त्यस्तै सशस्त्र प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिका-१ बाट शुक्रबार विभिन्न प्रकारका पटका बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल भुटाहाबाट खटिएको प्रहरी निरीक्षक भूपेन्द्रकाजी निरौला नेतृत्वको टोलीले ३५ हजार मूल्य बराबरको पटका बरामद गरेको छ । बरामद गरिएको पटका नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयको रहोबरमा नष्ट गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्