बैशाख ४, २०८१

संघीय निजामती सेवा ऐन किन आएन ?

rowkaha
भदौ २०, २०७९ | २:३८ बजे

कुमार दाहाल
निजामती सेवा इतिहासकै सबैभन्दा अप्ठ्यारो अवस्थामा छ। निजामती सेवाका सिद्धान्त, व्यवहार, संस्कृति, प्रवृतिमा नै अहिले प्रश्नचिन्ह छ । संघीयता कार्यान्वयनको आधि दशक बितेको छ । स्थानीय सरकारको पाँच वर्ष सकियो । संघ, प्रदेश संसदको चुनाव तोकिएको छ । तर स्थायी संयन्त्र निजामती सेवा एेन संघीय संरचनाअनुरुप छैन् । अहिले कर्मचारीतन्त्रमा एक प्रकारको अन्योलता छ । स्थायी, करार, अस्थायी कर्मचारी छुट्टिन छाडेका छन्। कर्मचारी नियुक्तिसम्बन्धी प्रदेश पिच्छेका नीति फरक छन्। नियुक्ति, बढुवा, सरुवाका संघीय नीति ओझेलमा परेको छ। निजामती सेवा सरकारी संयन्त्रको मूल खम्बा हो। निजामती सेवा नीतिले संस्थान, प्रतिष्ठान, शिक्षा, प्रहरीसमेत परोक्षरुपमा प्रभावित हुन्छन् । अधिकांश सरकारी निकायमा तलब निजामती सेवा मापदण्डअनुरुप राखिएको छ । तर निजामती सेवा ऐन अहिलेसम्म छैन् । २०६४ सालको ऐन र २०७४ सालको समायोजन एेनबाट अहिले निजामती सेवा सञ्चालित छ । किन निजामती सेवा ऐन आएन् । थुप्रै उत्सुकता कर्मचारी वृत्तभित्र छ । उत्सुकताभन्दा पनि नेतृत्वले संघीयताको मर्मअनुरुप ऐन ल्याउन नसकेको आरोप थुप्रै छ। ।

२०४७ सालको परिवर्तनपछि तत्कालैिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा प्रशासन सुधार आयोग गठन भयो। यसले निजामती सेवा ऐनको प्रारुप तयार गर्यो । मन्त्रालय, विभाग, कर्मचारी संख्या, तलब, विकासका विषयमा प्रतिवेदनले थुप्रै सुधारको विषय औल्याइयो । तर प्रतिवेदन विपरीत २०४९ कात्तिकमा तीस बर्ष सेवा लगाएर थुप्रै कर्मचारी सेवाबाट हटाइए । यसमा विशिष्ट श्रेणीलगायत माथिल्ला कर्मचारीहरु  पजनिमा परे। त्यसपछि सरकार र कर्मचारीतन्त्रको बीचमा द्वन्द्व सुरु भयो जुन यद्यपि छँदैछ । यसपछि निजामती सेवाको संगठन र सोपानमा थुप्रै परिवर्तन भए । मन्त्रालय फुटाउने र जुटाउने नीतिहरू आए । प्रतिवेदनका कुनै पनि विषय राम्रोसँग लागू भएनन् । निजामती सेवामा ट्रेड युनियन हावी हुँदै गयो । सरुवा, बढुवा, वृत्तिविकासका सबै विषयमा राजनीतिक हस्तक्षेप बढ्यो। तर कर्मचारीतन्त्रले आफ्नो योग्यताको प्रदर्शन कही पनि गरेन र गर्न सकेको छैन् । बिस्तारै कर्मचारीतन्त्रको क्षयिकरण सुरु हुँदै गयो । आफ्नो योग्यताबाट भन्दा राजनीतिबाट कर्मचारीतन्त्र चल्न थाल्यो । आजसम्म राजनीति र प्रशासनबीच मजबूत विश्वास नहुँदा  संघीय निजामती सेवा ऐन ल्याउन गाह्रो भएको छ।।

संघीयतापछि निजामती सेवाको खाका तयार भएन । निजामती सेवामा कतिपय विषय स्थापित भइसकेका थिए।  सरुवा बढुवाका विषयमा विगतका ऐन कानुन स्पष्ट थिए । तर संघीयतापछि स्थापित विषयमा समेत हामीले थप व्याख्या गर्न थाल्यौ। संघीयताले माग गरेको कर्मचारी समायोजन, कानुन संशोधन गरेर तीन तहका सरकारको कर्मचारीको सेवा सर्त सम्बन्धी कानुन स्थापित गर्नु थियो । यस विषयमा भन्दा पनि कुन पद र  तहलाई संरक्षित र संघीय बनाउने विषयमा नै हाम्रो नीति र नेतृत्व अल्मलियो। पोलिटिकल स्टेटमेनसिप र राजनीतिभित्र प्रशासनको विज्ञताको कमिले अहिलेसम्म निजामती सेवा ऐन आउन सकेन। कर्मचारीतन्त्रको सुझाव समेत स्पष्ट भएन। वा राजनीतिलाई बुझाउन सकेनन् ।

समायोजन ऐनले  निजामती सेवाको स्वरूपलाई कुरूप बनायो जसरी २०६४ सालको ऐनले बढुवा पद्धतिलाई स्थापित गर्नुभन्दा २४घ  बढुवा नीतिबाट सेवा स्वरुपलाई नै समाप्त पारिदियो। यसको असर  नटुंगिँदै समायोजन  ऐनको प्रहार पर्यो। समायोजन ऐनले ल्याएको विकृति रोक्न संघीय एेनले कतिको सक्छ यो चुनौतीपूर्ण छ। किनकि प्रदेशहरुले निजामती सेवा ऐन ल्याइसकेका छन् । नियुक्ति, बढुवा, कर्मचारीको उमेरका विषयमा प्रदेश अगाडी छन्। अब प्रदेसले कर्मचारीलाई दिइएको सुविधा  संघीय एेनले कतिको संस्थागत गर्न सक्ला ?  अदालतमा कति मुद्दा पर्लान् र कति कर्मचारीलाई मर्का पर्ला ? हामीले समयमै आँकलन गरेका छैनौ ।

अहिले निजामती सेवा ऐन ल्याउन एउटा मुद्दा प्रमुखरुपमा छ ।  प्रमुख प्रशासकीय अधिकृत र सचिव  प्रदेशको रहने  वा संघको । यो विषयमा निर्णय गर्न ढिलो भइसकेको छ । समायोजन एेनबाट पठाइएका कर्मचारीप्रति प्रदेश र स्थानीय सरकारको सन्तुष्टि छैन् । अझ प्रदेशको बढी असन्तुष्टि छ। आफ्नो अधिनमा कर्मचारी नभएमा   स्थानीय नेतृत्वप्रति कर्मचारी उत्तरदायी नहुने प्रदेश र स्थानीय सरकारको भनाईमा नीतिगत तर्कहरू थुप्रै छन् । संघीयताको अन्तरसम्बन्ध बिग्रिने संघीय धारणा नीतिगत रुपमा बलियो छैन् । तहगत छुट्टै कानुन हुँदा संघीय कर्मचारी व्यवस्थापन गर्न गाह्रो छ। किनकि ५ वर्षमा प्रदेशमा थुप्रै मन्त्रालय बने। थुप्रै पद सिर्जना भए। स्थानीय तहमा थुप्रै कर्मचारी नियुक्ति भए। तहगत कर्मचारी छुट्टै नियुक्ति हुँदा शाखाअधिकृत भन्दा माथि सहसचिवसम्म झण्डै पाँचसय कर्मचारी फाजिलमा पर्छन्। फेरि समायोजनको बल प्रयोग गर्नुपर्छ। यो बिषय पहिलेको जस्तो छैन् । कठिन छ। यही विषयमा प्रष्ट दृष्टिकोण नहुँदा संघीय एेन आउन सकेको छैन् ।

शक्ति सन्तुलन र नियन्त्रणका लागि थुप्रै संवैधानिक निकाय छन् । यी अंगहरुले संघीयतालाई बलियो बनाउँछन् ।अन्तरसम्बन्ध कायम राख्छन्। अख्तियार, महालेखापरीक्षकलगायत अन्तर प्रदेश समन्वय परिषद र अंगहरुको  नियमन कडा हुनुपर्छ । बजेट नीति तथा कार्यक्रमको अनुशासित कार्यान्वयनबाट संघीयता बलियो हुन्छ । कर्मचारीको पद र तह कुन सरकारको अधिनमा छ भन्ने विषय महत्वपूर्ण होइन। कर्मचारीको पद र तह  कहाँ रहनुपर्छ भन्दापनि बढुवा, वृत्तिविकासमा योग्यता र क्षमताको कदर महत्वपूर्ण हो । समय, योग्यताका आधारमा यी विषय अनुमानयोग्य हुनुपर्छ। कर्मचारीहरुको लक्ष्य संघीय सचिव वा मुख्यसचिव सम्म पुग्नु हो। स्थानीय तहको कर्मचारी वा प्रदेशको कर्मचारीको निरन्तर वृत्तिविकास संघीय सम्म ल्याउने ढोका खुल्ला हुनुपर्छ । बढुवा प्रणालीलाई स्थानीय  र प्रदेशका तहसम्म जोड्नुपर्छ  र निश्चित योग्यता भएका कर्मचारी संघमा ल्याउन सक्ने व्यवस्था हुनुपर्छ । यसबाट मात्र संघ, प्रदेश र स्थानीय कर्मचारीको बीचमा अन्तरसम्बन्ध बलियो  हुन्छ । संघीय कर्मचारी राख्दैमा संघीय नीति बलियो हुने भए अहिलेको ठूलो बेरुजु र भ्रष्टाचार  यिनै कर्मचारीबाट भएका छन् । उजुरी र कारबाहीका घटना थुप्रै छन् । कर्मचारीलाई अनुगमन र निगरानी गर्ने निकाय महत्वपूर्ण हो । 
अहिले कतिपय प्रदेशले निजामती सेवा ऐन ल्याइसकेका छन् । तर संघीय  ऐन, सेवा शर्त सम्बन्धी बलियो कानुन बन्नुपर्छ । निजामती सेवा ऐनको सिद्धान्त नीति, सेवा, शर्तमा एकरूपता नभएमा कानुन खारेज हुनुपर्छ । तबमात्र संघीय प्रदेश र स्थानीय सरकारका कर्मचारीहरूको मूल्यांकन प्रक्रिया एकै प्रकारको हुनसक्छ र कर्मचारोमा विश्वसनीयता बढ्छ ।  प्रदेश, स्थानीय सरकारले क्षमताअनुसार सुविधा दिन सकिएला।  तर नियुक्ति, बढुवा, वृत्ति विकास, तालिम ,सेवा शर्त  विषयहरूमा  अनेकरुपता हुनुहुँदैन् । यो विषय स्पष्ट गरेमा संघीय कानून आउनसक्छ । तर जति ढिलो गर्यो यो विषय झन पेचिलो हुँदै जान्छ।

प्रतिक्रिया दिनुहोस्