व्यापार घाटा कम गर्ने उपायहरु

कृष्णहरि बास्कोटा
कोभिड संक्रमण लगायतका कारण अर्थतन्त्रका सूचकहरु खस्किएका छन् । यसबाट विदेशी मुद्राको संचिति पनि घटेको छ । जस्का कारण नेपाल सरकारले कुरकुरे, लेज, मदिरा, सुर्तीजन्य बस्तु, हिरा, स्मार्ट फोन, रंगिन टिभी, जिप कार भ्यान, खेलौना, तास लगायतको आयातमा गरेको कडाईलाई लचिलो तुल्याएपछि नेपालको अन्तराष्ट्रिय व्यापारको असन्तुलन अझ बढ्नेतर्फ चासो र चिन्ता बढेको छ । यसबाट आकाशिएको व्यापार घाटामा थप असजिलो स्थिति पैदा हुन सक्ने आकंलन गरिन्छ ।
स्वर्ण युगः
लिच्छबी काललाई नेपालको स्वर्ण युग भनिन्छ । मल्ल कालमा हामी निकै सम्पन्नशाली थियौ । यी दुबै कालमा हामी उत्तर र दक्षिणका लागि निकासीकर्ता थियौ । पृथ्वी नारायण शाहको पालासम्ममा पनि हामी खाद्यान्न, हरियो तरकारी, फलपूmल, माछा मासु, दुग्धजन्य पदार्थ लगायतमा आत्मनिर्भर थियौं । सो बखत आयात नगरी नहुने बस्तुमा नून र मट्टितेल थिए । हाल समयले निकै कोल्टे फेर्दा हामी पूरै आयातमुखी मुलुकमा रुपान्तरित हुदै गएका छौं ।
खोलो फर्काऔः
आयातमुखी मुलुकलाई निकासीमूलक मुलुकमा रुपान्तरित गर्न त शायदै नसकिएला । तथापी, बाह्र बर्षमा खोलो पनि फर्किन्छ भन्छन् । यसर्थ, चुलिएको व्यापार घाटा कम गर्न नेपालमा संभाव्य देखिएको फलाम खानी, सुन खानी, पत्थर कोईला, पेट्रोलियमको उत्खनन, रत्न पत्थर कटिङ, यूरेनियम लगायतका खानीहरुलाई संचालनमा ल्याउन सके नेपालको निकासी बृद्धि हुनेछ । विश्व बैंकले गरेको एक अध्ययन अनुसार नेपालले हालको तुलनामा ६ दोव्वर बढि निकासी गर्न सक्ने संभावना छ । कतै हामी सुनको कचौरामा भीख मागिरहेका त छैनौं ?
हामीले आयात रोक्न रसायनिक मल कारखाना, प्रांगारिक मल कारखाना र कृषि औजार कारखाना संचालनमा ल्याउनु पर्छ । कृषि उत्पादन तर्फको रु ४ खर्वको वार्षिक आयात पूर्णतः निषेध गर्नुपर्छ । घरको भान्छाबाट एलपी ग्यास हटाई ईण्डक्शन चुल्हो संचालनमा ल्याउनु पर्छ । पेट्रोल डिजेलका मोटर हटाई विद्युतीय मोटर संचालनमा ल्याउनु पर्छ । नेपालको सिमानामा दैनिक हुने ८० करोडको घरायसी सामानको कारोवार (आयात) लाई समूल अन्त्य गर्नुपर्छ । कृषि उत्पादनमा प्रत्येक किसानले प्रोसेसिंग, ग्रेडिङ, प्याकेजिङ गर्न सक्ने अबस्था श्रृजना गर्नुपर्छ । स्वास्थ्य सेवा लिन विदेश जाने र शिक्षाका लागि विदेशिनेसंग निर्ममढंगले कर असुली गर्नुपर्छ । यर्थाथमा, हामी सबैमा राष्ट्रियताको भावना जागृत हुनुपर्छ । यसबाट आयात घट्ने, निकासी बढ्ने र अन्तर्राष्ट्रिय व्यापार घाटाको सट्टा सन्तुलित हुने गरी खोलो फर्किन सक्छ ।
उदारीकरणको नीतिः
सन् १९९२ मा नेपालले खुल्ला अर्थनीति अबलम्बन गरेको हो । मुलुक आर्थिक उदारीकरणमा गएसँगै कोटा प्रणाली खारेज भयो । कुनै पनि उद्योग स्थापना गर्न र व्यापार गर्न सरकारको स्वविवेकी निर्णय कुर्नुपर्ने प्रथा भत्कियो । मुलुकले सरकारी संस्थान निजीकरण गर्ने नीति लियो । यसरी, सरकारद्धारा नियन्त्रण गरिएको नेपालको वाणिज्य क्षेत्र एकाएक खुल्ला, स्वतन्त्र र मनमौजी बन्न पुग्यो ।
आर्थिक उदारीकरणसंगै सबै नेपालीले लगानी गरी आप्mनो ईच्छा अनुसारको व्यापार गर्न सक्ने भए । यसरी नीतिगतरुपमा वाणिज्यका क्षेत्रमा ठूलो फड्को मारियो । यस्तो नीति अख्तियार गरेको ३० वर्ष भयो । यस आर्थिक उदारीकरणका कारण अर्थतन्त्रको संबाहक निजी क्षेत्र बन्न पुग्यो जसको कारण नेपालको आयात निर्यात व्यापार सरकारको नियन्त्रणमा रहेन् । आज हामी आयात अत्याधिक हुने मुलुकको पंक्तीमा उभ्भिईन वाह्य भयौं । दक्षिण एशियामा नेपाल, माल्दिभ्स र अफगानिस्थान मात्रै अत्याधिक व्यापार घाटाका मुलुक हुन् । यसरी, हामीले अर्थिक उदारिकरणबाट लाभ लिन सकेनौं, अर्काका लागि आप्mनो वजार खुल्ला गरिदियौं भन्ने अबस्था श्रृजना भएको छ ।
विश्व सञ्जालः
सन् १९९५ जनवरी १ का दिन ग्याटलाई विश्व व्यापार संगठनमा रुपान्तरित गरियो । सो बखत नेपाल ग्याटको पर्यवेक्षक सदस्य भएकाले विश्व व्यापार संगठनको पनि स्वतः पर्यबेक्षक सदस्य बन्न पुग्यो । सन् २००४ मा नेपाल विश्व व्यापार संगठनको १४७औ सदस्य बन्न सफल भयो । यसैगरी, नेपाल साप्mटा र विमिष्टेक जस्ता क्षेत्रीय संजालमा पनि आबद्ध हुन पुग्यो ।
हाल नेपालको प्रत्यक्ष व्यापार सम्बन्ध करिब ११० मुलुकसंग रहेको अनुमान छ । यसरी हामी वाणिज्यको माध्यमद्धारा विश्व संजालमा आबद्ध भएका छौं ।
आकाशिएको व्यापार घाटाः
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८।७९ मा कुल वस्तु निर्यात ४१.७ प्रतिशतले वृद्धि भई रु.२०० अर्ब ३ करोड पुगेको छ । सो पूर्वको वर्षमा यस्तो निर्यात ४४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ४५.९ प्रतिशत र ३०.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २०.४ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, ऊनी गलंैचा, धागो (पोलिष्टर तथा अन्य), जिंक शिट, जुस लगायतका वस्तुको निर्यात बढेको छ । सोयाविन तेल, अलैंची, चिया, औषधी (आयुर्वेदिक), तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आ.ब. २०७८।७९ मा कुल वस्तु आयात २४.७ प्रतिशतले वृद्धि भई रु.१९२० अर्ब ४५ करोड पुगेको छ । सोको अघिल्लो वर्ष यस्तो आयात २८.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २३.५ प्रतिशत, १३.२ प्रतिशत र ३६.३ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, स्पंज आइरन, सुन लगायतका वस्तुको आयात बढेको छ । एम.एस.विलेट, सिमेन्ट, धान तथा चामल, दाल, मेडिकल उपकरण लगायतका वस्तुको आयात घटेको छ ।
यसरी गत आ.ब. २०७८।७९ मा कुल वस्तु व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भई रु.१७२० अर्ब ४२ करोड पुगेको छ । सोको अघिल्लो वर्ष यस्तो घाटा २७.३ प्रतिशतले बढेको थियो । यसबाट आ.ब. २०७८।७९ मा निर्यात–आयात अनुपात १०.४ प्रतिशत पुगेको छ । सोको अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत रहेको थियो । यसरी, पछिल्ला दिनमा नेपालको व्यापार घाटा आकाशिएको स्थिति छ ।
व्यापार घाटाको कारणः
व्यापार घाटा बृद्धि हुँदै जाने विभिन्न कारण मध्ये नेपाल भूपरिवेष्ठित मुलुक हुनु पनि एउटा कारण हो । भारतसँग खुल्ला सिमाना भएकाले करिब ६५ प्रतिशत व्यापार भारतसंग हुने गरेको छ ।
व्यापार घाटा बृद्धि हुनुकोे मूल कारण भारत र चीनबाट आयात बृद्धि भैरहने तर, ती मुलुकमा नेपालको निकासी बृद्धि हुन नसक्नु नै हो । यसरी नेपालको बढदो व्यापार घाटालाई न्यूनीकरण गर्न बस्तुगत र देशगत निकासी विविधिकरण गर्ने सरकारी नीति भए पनि उपलव्धी शून्य प्रायः रहिआएको छ ।
निकासी बढाउने उपायः
चालू आ.ब. को बजेटले निकासी प्रबद्र्धनका लागि ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको छ । तर, नेपालबाट निकासी बृद्धि हुन नसक्नुमा उत्पादन नहुनु र उत्पादन भएपनि गुणस्तरियता कायम राख्न नसक्नु नै हो ।
जुट र जुटका सामान, बनस्पति ध्यू, पश्मिना, दाल, अदुवा, अलैची, धागो, तामाको तार, आयुर्बेदिक औषधि लगायतका बस्तुहरु भारतमा निकासी भैरहेको छ । यसैगरी, तयारी पोषाक, पश्मिना, उनी गलैचा, प्रशोधित तथा तयारी छाला, हस्तकलाका सामान, नेपाली कागज, चांदीका गरगहना, चिया, कफी लगायतका बस्तु अन्य मुलुकमा निकासी भैरहेका छन् । साथै, रेशम र कपासमा आधारित बस्तुको पनि निकासी भएको पाईन्छ । यसरी निकासी भएका बस्तुको परिमाण बृद्धि गर्नुका साथै नयां बस्तुको निकासीमा जोड दिनुपर्छ ।
भूपरिबेष्ठित मुलुक भएकाले हामीले हवाई जहाजबाट निकासी गर्न सकिने कम तौल भएका र उच्च मूल्य हासिल हुने बस्तुको उत्पादन बृद्धिको नीति लिनुपर्छ । साथै, अर्गानिक तरकारी, मह, हिमालको पानीलाई वोटलिङ गरी निकासी गर्ने तथा अन्तर्राष्ट्रिय ट्रान्समिशन लाईनको माध्यमद्धारा बिद्युत शक्ति निकासीको पनि प्रयास गर्नुपर्छ ।
सरकारी नीतिः
नेपाल सरकारले वाणिज्य नीति, २०७२ र नेपाल एकीकृत व्यापार रणनीति, २०७३ जारी गरेको छ । साथै, व्यापारका क्षेत्रमा निजी क्षेत्र उपर कुनै प्रकारको रोकतोक पनि छैन । यी सबै परिस्थितिमा पनि मुलुकको वाणिज्य क्षेत्रले अपेक्षित गति लिन नसकिरहेको अबस्थामा निजी क्षेत्र थप गतिशील हुनु समयको मांग हो ।
मुलुकलाई औद्योगिकीकरणमा रुपान्तरण नगरी उत्पादन बृद्धि गर्न सकिन्न । यस्का लागि आन्तरिक र बाह्य लगानी आकर्षित नगरी सुख्खै छैन । यसैगरी, उद्योगको कच्चा पदार्थका लागि आम किसान र वस्तुगत उत्पादकहरुबाट उत्पादन बढाउनै पर्छ । आयात व्यापारमा दत्तचित्त व्यापारीले उद्योग स्थापनामा पनि योगदान गर्ने प्रणालीलाई बढावा दिनुपर्छ । आम नेपालीले स्वदेशी बस्तु उपलव्ध भएसम्म विदेशी बस्तुको उपयोग नगर्ने वानीको विकास गर्नुपर्छ ।
भविष्यको गोरेटोः
आयात प्रतिस्थापनमा हामी दृढ हुनै पर्छ । यस्का लागि ट्यारिफ र ननट्यारिफरुपी नियन्त्रणका टुल्स उपयोग गर्नुपर्छ । एफडिआईलाई स्वागत गर्नुपर्छ । साना उद्यमीको उत्पादनलाई पनि निकासी गर्ने रणनीति लिनु्पर्छ । रोजगारी दिने, नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योगलाई थप छुटसुविधा दिनुपर्छ ।
हामीले टे«ड पिप्लोमेशीमा जोड दिनै पर्छ । यस्का लागि मुलुकगत छुट्टा छृट्टै निकासीको नीति बनाउनु पर्छ । गुणस्तरीय सामान उत्पादन भएपछि मात्रै निकासी गर्न सकिन्छ भन्ने कुराको हेक्का राख्नु पर्छ । आईसिटी क्षेत्रको लगानी हाम्रा लागि लाभप्रद हुने देखिन्छ । जुन मुलुकमा जे बस्तुको निकासी संभव छ, सोही मुलुकबाट तत् क्षेत्रमा एफडीआई ल्याउने प्रयास गर्नुपर्छ । यसरी निकासी बृद्धि गर्ने ध्येयबाटै हाम्रो व्यापार घाटा कम गर्न सकिन्छ ।
