वर्ष दिनमा ३०० मूल्य बढाएर दशैंमा ५० रुपैयाँ छुट

१९ भदौ, काठमाडौं । असोज २०७८ मा नेपाली बजारमा दुग्ध विकास संस्थान डीडीसीले बिक्री गर्ने नेपाली घिउको मूल्य प्रतिकिलो ९०० रुपैयाँ थियो । तर ११ महिना १५ दिनको अवधिमा घिउको मूल्य प्रतिकिलो ११०० रुपैयाँ पुग्यो ।
नेपाल खुद्रा व्यापार संघकाअनुसार अहिले बजारमा थोकमै नेपाली घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ छ ।
जबकि गत वर्ष नेपाली घिउको मूल्य प्रतिकिलो ९०० रुपैयाँ मात्रै थियो । बजारमा पाइने नेपाली घिउको मूल्य एक वर्षमा ३०० रुपैयाँ महँगो भएको छ भने दुग्ध विकास संस्थाले बेच्ने घिउको मूल्य २०० रुपैयाँले बढेको छ ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छट लक्षित केही अत्यावश्यक खाद्य वस्तुको सहुलियत मूल्यको घोषणा गर्यो, जसमा घिउको मूल्यमा प्रतिकिलो ५० रुपैयाँ छुट दिइएको छ । चामल, दलहन र खानेतेलमा प्रतिकिलो र लिटरमा ७ रुपैयाँ, चिजमा प्रतिकिलो ४० रुपैयाँसम्म छुट घोषणा गरिएको छ ।
