पर्यटकलाई सम्साँझै सुताइरहेछ भैरहवा

१९ भदौ, भैरहवा । लुम्बिनी पुगेर फर्किएका गोरखाका सुन्दर श्रेष्ठको टोली बिहीबार साँझ ८ बजे भैरहवाको मुख्य बजार घुम्न निस्किंदा सुनसान भइसकेको पाएपछि होटल फर्कियो ।
यो टोली बसेको पर्यटकस्तरको होटलले पनि ‘९.३० बजेसम्म खाना खाइदिन’ आग्रह गर्यो । त्यसपछि किचन बन्द हुने भएकाले उनीहरु खाना खाएर राति १० नबज्दै कोठा फर्किए । ‘आध्यात्मिक ठाउँ लुम्बिनीमा रातिसम्म बसेर चिसो बियर खान्छु भन्न पक्कै जायज हुन्न, त्यसबाहिरको भैरहवामा पनि रातको शीतलमा यसो रमाइलो गरेर बस्न पाइने अवस्था रहेनछ’ श्रेष्ठले भने, ‘पोखरा र चितवनपछि धेरै पर्यटक आउने भनिएको यो क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्ने अरु गतिविधि रहेनछन् ।’
त्यही टोलीमा रहेका चितवनका शुभम् चौलागाईं भैरहवाका होटलहरुको आतिथ्य सेवा ठिकै भए पनि पाहुनालाई सम्साँझै ‘खाएर सुत’ भन्ने खालको वातावरण बेस्वादिलो भएको बताउँछन् । ‘गर्मी ठाउँमा कम्तीमा राति १–२ बजेसम्म अनुशासित रुपमा रमाइलो गर्ने अवस्था बनाउनुपर्ने हो’ उनले भने, ‘त्यसबाट कमाउने यहीका व्यवसायीले हो । कोही केही खर्च गर्छु भनेर आएको छ भने उसलाई त्यो वातावरण किन नदिने ?’
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा बेलुका ८ बजेपछि सुस्ताउँछ र १० बजेपछि बन्द नै हुन्छ । होटल–रेस्टुरेन्ट, सपिङ मल सबै बन्द हुन्छ । राति भैरहवा पुग्ने पर्यटक भोकै सुत्नुपर्ने अवस्था हुन्छ ।
